चिसो सम्बन्ध
आज चुलोमा आगो बेस्सरी भरभरायो।दुइ माने भड्डुमा डेढ माना चामल फत्त्फत्त गर्दै थियो।गुड बस्न छिरेका चरिहरुले कति आनन्दित बनाएका थिए, सिंजा भाड्गाउको शौन्दर्यतालाई।पीध कुच्चिएको गाग्रोमा तप-तप पानीका थोपाले डुबुल्की मारिरहेका थिए।अलि तल बाट जुनकिरी पिलिपिली गर्दै माथी उक्लिदै गरेको जस्तो देखिन्थ्यो।आँगनमा दियो,कलश,बाहिर सम्म मगमगाइरहेको सेल र पल्लो घर बाट देउसुरे,देउसुरे भन्दै पुष्पाको घर तिर लम्किदै गरेको आवाज।पुष्पा आच्चुच्चु भन्दै बाहिर निस्किदा ननिस्किदै देउसुरे-देउसुरे भन्दै केटाकेटी हरु आँगनमा भट्ट्य़ाउन थाले।पुष्पाका बुबा सुन्तिमाले रावत पनि चिलिम तान्दै आँगनको डिलतिर निस्के।पहेंला दाता देखाएर हासे र फेरी एक चिलिम ताने।धूवाको मुस्लो फु...गर्नलाई पछाडी फर्किदा उनको नजर जुनकिरी जस्तो माथि उक्लिदै गरेको प्रकाशमा पर्यो।चिलिम तान्दै सुन्तिमाले अगेनो तीर हुइकिए।रोटि पोल्दै गरिकी आफ्नी श्रीमती पुन्चकलिको छेउमा थुचुक्क बसेर मसिनो आवाजमा धूवा र आवाज एक फेरमा ओकल्दै सुन्तिमाले ले भन्यो, हन, आ जस्तो छ।
पुन्चकलि अक्क न बक्क परेर बोलि,को?
विरमाने।यत्ति बोलेर सुन्तिमाले पछाडिको ढोका बाट निस्कियो र खै कता हिड्यो।राति पनि निकै अबेर,झन्डै बिहानी पहरको ३ बजे तिर फर्किएको थियो।
विरमाने १२ वर्ष अगाडी आफ्नै काका सैमल रावत को १८ हजार दाम चोरेर फरार भएको थियो।त्यहि साल पुष्पा जन्मिएकी हो।पैसा हराएको कुरा सबै मिलि छानबिन गर्दा र पैसा हराएकै दिन देखि विरमाने पनि फरार भएको हुदा चोर पत्ता लगाउनु गाह्रो कुरा थिएन।ठालुहरुको निर्णय पनि त्यही भयो।जीवन भर इमान्दारिताको परिचय बनाएको सुन्तिमाले माथि ठुलो फसाद आइपर्यो।जम्मा तिन वर्ष अघि मात्रै सुन्तिमाले ले जेनतेन गरेर सैमलेको पैसा तिरी भ्यायो।
पुन्चकली अझै अक्क न बक्क थिइ।के गर्ने कसो नगर्ने केहि मेसो पाउन सकिन।पोल्दै गरेको रोटि पनि नझिकी बाहिर निस्की।उसले देख्दा विरमाने केटाकेटी हरुलाई मिठाइ बाढ्दै थियो। परै सम्म मगमगाउने अत्तर लगाएको।छातीमा कालो चस्मा भिरेको।कानमा मुन्द्रा पनि लगाएछ। पछाडी निकै गह्रौ जस्तो देखिने झोला भिरेको। भै मा राखेको झोला बाट अझै मिठाइ बाड्दै थियो विरमाने। मिठाइ पाएपछि सबै केटाकेटी हरु लाखा पाखा लागे।
अघिसम्म त ठिकै थियो अब त माहोल पनि अस्पतालको कुनै कक्ष जस्तो शान्त भयो।पुन्चकलीले अझै माफ गर्न सकेकी थिइन विरमानेलाइ।विरमाने ले फिस्स मुस्कान छाड्ने प्रयाश गर्यो।पुन्चकलीमा सल्लाको ठुटो जस्तो भाव थियो।विरमानेले आमालाई ढोग्यो।र हातमा दुइवटा लाखका बिटा राखिदियो।पुन्चकलीको पर्दैन भन्ने भाव भएता पनि उसले नलिने भन्न सकिन।पुष्पा यो तलाई।विरमाने बोल्यो। पुन्चकली फेरी अक्क न बक्क परी।विरमाने बोल्यो, सब था छ मुलाई,यो झोला तिम्रा बुढा-बुढीलाई। तिहारा टिका लाउन आका हुम्,बमनडर नअर।भोलि टिआ लार फर्किहाल्ने हुम्।आज सैमले काका का बस्न जान्छु।थप संवाद यहा केहि भएन।विरमाने फनक्कै फर्कियो र ओरालो लाग्यो।पुष्पा र पुन्चकालीले मुखामुख गरे।दुवै केहि बोल्न सकेनन्।
राती अबेर सम्म पुन्चकली ले सुन्तिमाले लाई झरोको प्रकाशमा पर्खिराही।त्यो दुइ वटा लाखको बिटो झरोको प्रकाश मुनि शक्तिहिन शक्ति को घमण्ड बोकेर रातभर निराश भैरह्यो।
पुष्पा कक्षा ८ मा पढ्थी।विद्यालय जान आउन उसलाई झन्डै ३ घण्टा लाग्थ्यो।चिसोले क्याप्पै समैहालने।अलि रोगी-रोगी थिइ,पुष्पा।
खै उसले हिजो साझ को दृश्य ले के बुझी के सम्झी तर आज उसमा बेग्लै उत्साह थियो।उसको जीवनको पहिलो तिहार।हुन त् आफन्तका दाजुभाई भनिने हरु नभएका होइनन।तर सुन्तिमाले ले आफ्नै छोरो नै मरेतुल्य भएपछी अरुको हातबाट टिका लाउनु को कुनै अर्थ छैन भनेर पुष्पालाई कहिल्यै टिका लाउन दिएनन।
पुष्पाले सुरुमा बुवाले हिउदमा इन्डिया जादा ल्याएको रेडियो खोलि।रेडियोमा दिनैभर तिहारको मंगल धुन मात्र बजिरह्यो।उसले आफैँ करेसा बाट सिमि ल्याई र आलु संग पर्पर् भुटी।दशैँमा काटेको च्यांग्राको खुट्टाको झोल बनाई।कोइरो को अचार बनाई।खै कुन जागरले हो उसले बेलुकै माला उनकी थिई।दुईवटा।सबै सरसामान तयार गरि पर्खेर बसी दाई विरमानेलाई।टिका लगाउने साइत बिहान ११:१५ बजे को थियो।तर २:३० बज्दा पनि विरमाने आइपुगेन।बा-आमाले पर्दैन भो, आउदैन त्यो पनि भने।पुष्पा भने निराहार पर्खेर बसिरही आफ्नो दाई विरमानेलाई।साझको ५ बज्यो।झिसमिसे भयो।तर विरमाने आएन।सुन्तिमाले ले भन्यो,भो अब भात खा। पुष्पा ले तल बाट उक्लिदै गरेको एक जुनकिरी जस्तो आकृति लाई संकेत गरि।
हिजो साझको जस्तै पिलिक-पिलिक जुनकिरी उक्लेको देख्दा सुन्तीमालेलाई लख काट्न गाह्रो गरेन।यसपाल उ घरबाट निस्केर कतै हिडेंन।बरु कोठा भित्र छिर्यो।पुन्चकली सामसाम-सुमसुमा यता-उता गर्दै थिइ।पुन्चकलीले विरमानेलाई आँगन टेकेको देखि तर केहि बोलिन।पुष्पा आँगन मै पुगेकी थिइ आफ्नो दाइ विरमाने लाई लिन।तर केहि बोलिन।र अगाडी टिका ग्रहण गर्ने स्थान तर्फ लागी।सैमले काका का ढिला भो विरमाने यत्ति मात्र बोल्यो।विरमाने ले अन्त कतै टिका लगाएर आएको भने थिएन।सायद उसले पनि १२ वर्ष देखि तिहार को टिका नलगाएको जस्तो आभाष हुन्थ्यो।मुख बाट ह्वास्स रक्सि गनाएको थियो।विरमाने राडीमा बस्यो।
पुष्पाले दियो बालेर पुज्न थाली।उसले खै कसरी जानेकी तर सबै विधि पुर्याएकी।ओखर फोड्न मात्र लागेकी थिइ,जुरुक्क उठी र बाहिर दगुरी।विरमाने ले हेरीमात्र रह्यो,केहि बोलेन।आँगन पुगेर पुष्पा कालीनिली भइ।बररर... आसु झारी।ठ्याक्कै त्यसैबेला पुन्चकली आइपुगी र सोधी,के भो?किन रोकी?
पुष्पा त झन् दह्रो दह्रो पो रुन थाली।सुन्तिमाले ले पनि पुष्पा रोएको आवाज सुनिरहेकै थियो तर किन रोएको भनेर सोध्न लाई बाहिर निस्कनु पर्ने भएकाले उसलाई बाहिर निस्किने आट आएन।
यो कुरा आमालाई भेउ पाउन केहि गाह्रो थिएन।दगुर्दै लोग्ने भएको ठाउमा गइ र एकै स्वासमा बोलि,छोरी पाखा सरिछे।
सुन्तिमाले लाई खै कुन देउता चढ्यो कुन्नि,रिसको झोकमा कुर्लियो,थुइया यो राड लाइ पनि आजै। तर यसरी गाली नै गर्नु पर्ने पुष्पाको केहि गल्ति भने थिएन।
सायद यो विरमाने लाई माफी दिने सुन्तिमालेको शैली थियो कि के,उनि आफैँ जानुन्।पुष्पालाई केहि गुन्टा दिएर गोठ सरियो।विरमाने कसैसंग केहि नबोली त्यहि घरको आफ्नो पुरानो कोठामा गएर घुप्लुक्क सुत्यो।बूढाबुढी रातभर गुनगुन गरिरहे।
पुष्पाले राति ३ पटक खोकी।बिहान ४ बजे उठेर हेर्दा पुष्पा पहेली देखिन्थि खै कता कता निली कि काली जस्ती पनि।तर स्वाश चलिरहेकै थियो।देउता रिसाउने डरले आफ्नी फुलजस्ती पुष्पा लाई कसैले छुने आट गर्न सकेनन।किनभने उ पाखा सरेकी थिइ।विरमाने यो घटना हुदा सम्म उठेकै थिएन।उ करिब दिउसो को ४ बजे मात्र उठेको हो।देउताको डरले विहान ४ बजे देखि बेलुका ४ बज्दा सम्म पनि कसले छोएर उठाउने भनेर निर्णय हुन सकेन।अन्ततः ४ बजे पश्चात देउता ले नै पुष्पालाई उठाउनु भयो।हाम्री पुष्पा देउताकी प्यारी भइ।यसरी चिसो सम्बन्ध ले एउटा कलिलो फुल देउतालाई चढ्यो।सायद अब देउता रिसाउनु हुन्न होला? अब देउता खुसि हुनुभयो भयो होला।यसरी चिसो सम्बन्धले १२ वर्ष पछी आएको तिहार सधैँको लागी सकियो ।
३-४ वर्ष पछी तिर विरमाने खै कुन्नि के एनजीओ मा लागेर छाउगोठ भत्काउदै,कुप्रथाको जरा काट्दै हिडेको छ भन्ने सुन्न पनि पाइयो।बिहे गरेर सुर्खेत झरेर बस्न थालेछ। बा-आमा कुशल नै थिए रे तर विरमाने संग को सम्बन्ध भने सधैँ नै चिसो रह्यो रे।
विश्वजीत देउजा
०८२/७/६ बुधबार भाइटिकाको दिन
हाल जापान
विशेष धन्यवाद
दिल बहादुर रोकाया-दिल जी लाई
